अफगानिस्तानमा चार विस्फोटन, कम्तीमा ३७ जनाको मृत्यु

543

काबुल । अफगानिस्तानका विभिन्न चार स्थानमा बिहीबार बम विस्फोट हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । ८७ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । 

मजार–इ–सरिफको एउटा शिया मस्जिदमा पहिलो विस्फोटन भएको थियो ।  स्लामिक स्टेट (आईएस)ले पहिलो आक्रमणको जिम्मेवारी लिएको छ । तालिबानले आईएसलाई परास्त गरिसकेको बताएपनि उनीहरूको लागि यो समुह गम्भीर सुरक्षा चुनौती बनिरहेको छ । 

आईएस जिहादीहरूले मजार–इ–सरिफ मस्जिदमा प्रार्थना गर्नेहरूको घुँइचो लागेको बेला एउटा झोलामा राखिएको विस्फोटक पदार्थलाई रिमोट कन्ट्रोल प्रयोग गरी विस्फोट गराएको बताएका छन् । यस समुहले आफ्नो नेता र प्रवक्ता मारिएको बदला लिन विश्वव्यापी रूपमा चलाइएको अभियानको एक अंश स्वरूप यो आक्रमण गरिएको जनाएको छ । 

तर आईएसले अन्य तीनवटा विस्फोटमा पनि आफ्नो हात रहेको दाबी गरेको छैन । कुन्दुज सहर स्थित एउटा प्रहरी स्टेसन नजिकै एउटा सवारी साधनमा भएको दोश्रो विस्फोटमा चारजना मारिएको र अठार जना घाइते भएको एक प्रहरी प्रवक्ताले बताएका छन् । 

पूर्वी नान्गारहार प्रान्तको सडक छेउको एउटा खानीमा तालिबानको सवारी साधनमा विस्फोट गराइँदा चारजना तालिबान सदस्यको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन् । 

त्यसैगरी राजधानी काबुल नजिकको नियाज क्षेत्रमा भएको चौंथो विस्फोटनमा दुईजना बालबालिका घाइते भएका छन् । 
केही दिनअघि मात्र काबुलस्थित शिया मुस्लिम समुदायको घना बस्ती रहेको क्षेत्रमा रहेकोे एक विद्यालयमा विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो, २० जना भन्दा बढी घाइते भएका थिए ।

बीबीसीबाट । 
बाह्रखरी
 बाट ।