काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार राति ९ बजेसम्म मतदान हुने भएको छ। यसअघि सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो। तर, मतदान बिहान ११:१५ बजेबाट मात्र सुरू भएकाले मतदानको समय बढाइएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार आजै मतगणना सुरू हुनेछ। कांग्रेसका ४ हजार ७४३ प्रतिनिधि (मतदाता) छन्। दिउँसो ३:३० बजेसम्म एक हजार ३६५ मत खसेको निर्वाचन समितिले जनाएको छ।
१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।
एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ। कांग्रेसको भावी नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले उम्मेदवारी दिएका छन्।
यस्तै, महामन्त्रीका लागि गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल र राजाराम कार्कीले उम्मेदवारी दिएका छन्।