अत्याधिक गर्मीले रौतहटमा एक जनाकाे मृत्यु

349

रौतहट । तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ । अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो ।
बिहानबाट शुरु हुने गर्मीले गर्दा खास गरी ज्याला मजदुरी र खेती किसानी गर्नेहरु मारमा परेका छन् । त्यस्तै रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिकालाई जोड्ने लाल बकैया नदीको पुलमा आईतवार विहान एक साइकल यात्रीको मृत्यु भएको शव फेला परेको छ ।

स्थानीय बासिन्दाहरुले लाल बकैया पुल माथि एक साइकल यात्री मृत अवस्थामा रहेको आज विहान ७:२० बजेको समयमा खवर आएपछि इलाका प्रहरी कार्यालय देवाहीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

मृतक साइकल यात्री बौधीमाई नगरपालिका वडा नम्वर ८ सरमुजवाका अन्दाजी ५५ बर्षिय राजमंगल राय यादवको रुपमा सनाखत भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले विहान घरबाट साइकल लिएर आफन्त कहाँ गरुडा नगरपालिकाको जयनगर तर्फ आउने क्रममा पुलमा ढलेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको बताए ।

घटनास्थलको प्रकृति हेर्दा कालगति, हर्ट अटैंक वा गर्मीले गर्दा मृत्यु भएको हुन सक्ने आशंका गर्दै उनले पोष्टमार्टम पछि मात्रै मृत्युको ठोस कारण खुल्ने उनले भने । मृतक यादवको शव प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टम भईरहेको जानकारी दिएका छन ।