रौतहट । भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा गए राती भएको आगलागीमा तीन घर गोठ जलेर नष्ट भएको छ ।
आगलागीमा परेर घर गोठ भित्र रहेको ७ वटा चौपायाको समेत मृत्यु भएको छ । आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।
गए राती ११ बजेर ४५ मिनेटको समयमा ईशनाथ – ८ मंसरी टोलका बलिराम मिश्रको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्किन गई गोठ घरमा आगलागी भएको थियो । आगलागीको खबर प्राप्त हुन साथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमान्डमा खटी गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताइन ।
आगलागीमा भने कुनै प्रकारमा मानवीय क्षति नभए उनले बताइन । क्षतिको पूर्ण विवरण नआएपछि झन्डै १० लाख बराबरको क्षति भएको हुनसक्ने प्रहरीको अनुमान रहेको गिरीको भनाई छ ।
आगलागी लगतै घटनास्थल पुगेका ईशनाथ नगरपालिकाका पूर्व मेयर सन्तोष कुमार मेहताले गाउँले र प्रहरीको प्रयासले ठूलो क्षति हुनबाट जोगिएको बताए । उनले पीडित परिवारको सहयोगको लागि स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण समेत गराएका छन् ।