देवाही गोनाही नगरपालिकाका मेयरको नयाँ नाटक, आफुले फर्मनै नभरेको दाबी

518

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरले खेताला राखेर विद्यालय शिक्षा परिक्षा (एसइइ) परिक्षा दिन लगाएको पोल खुलेपछि उनले आफुले फर्मनै नभरेको भन्दै विज्ञप्ती जारी गरेका छन ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले आफ्नै ज्वाई इन्जीनियर कमल साहलाई आफ्नो सट्टा एसइइ को परिक्षा दिन मौलापुर नगरपालिकाको श्री लक्ष्मीनिया मावि परिक्षाकेन्द्रमा तैनाथ गरेका थिए । केन्द्राध्यक्ष तेजनारायण साहको मिलेमतोमा नक्कली परिक्षार्थी कमल साहले सिम्बोल नं. ३५०३७२८ का विद्यार्थीको सट्टामा परिक्षा दिइरहेको अवश्थामा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले फेला पारेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी मणिभूषण साहको नेतृत्वमा रहेकोले परिक्षा अनुगमन टोलिले नक्कली परिक्षार्थी कमल साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास स्टेशनमा कार्यरत स्थायी कर्मचारी हुन । “पक्राउ परेका साहसँग अनुसन्धान कार्य जारी रहेको छ, उनले आफुलाई अरुले परिक्षा दिन लगाएको स्वीकारेका छन ।” जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक वीरबहादुर बुढामगरले भने “परिक्षासँग सम्बन्धीत सबै कागजातहरु झिकाउदैछौं, सबै कागजातहरुले केही कुरा प्रष्ट बनाइसकेको छ तर अनुसन्धान अझै समाप्त भएको छैन ।”

सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानु (मेयर) नै भएको प्रवेश पत्र र अन्य कागजातहरुले समेत पुष्टी गरेको छ । प्रवेश पत्रमा लेखिएको जन्ममिति, बुवाको नाम ‘बनवारी साह’ तथा आमाको नाम ‘दया देवी ‘र ठेगाना वडा नं. ९ ले पनि मेयर आफैले एसइइको परिक्षामा नक्कली परिक्षार्थी खटाएको प्रष्ट छ ।

आफु कानूनी रुपमा फस्ने देखेपछि हिजो मेयर साहले एक विज्ञप्ती जारी गर्दै यस विषयमा आफुलाई जानकारी नभएको र कसैले आफुलाई नियतवस फसाउन खोजेको दाबी गरेका छन । तर प्रहरी श्रोतका अनुसार पक्राउ परेका मेयरका ज्वाइले उनको पोल खोलिसकेका छन ।

शिक्षा ऐन २०२८ को दफा १७ क अनुसार लक्ष्मीनिया माविमा मेयरले नक्कली परिक्षार्थीबाट जाँच दिन लगाएको सम्बन्धमा दुवैलाई ६ महिना कैद वा १ लाख जरिवाना, वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।