शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिए

25

राैतहट । आम जनता पार्टी (आजपा) निकटको आम विधार्थी मोर्चाले विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिएको छ ।

आम विधार्थी मोर्चाले आज गौरमा प्रदर्शन गरेको छ । आम विधार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो । प्रदर्शनमा विधार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयको सहभागिता रहेको छ ।

विधार्थीको अनुपात तहगत र बिषयगत शिक्षकको व्यवस्था गर्न सरकारसंग पटक पटक माग गर्दा समेत कुनै सुनुवाई नगरेपछि बाध्यभएर आन्दोलनमा उत्रिनु परेको विधार्थी मोर्चाका अध्यक्ष साहले बताएका छन् । मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए ।

‘हामीले सरकारलाई पटक पटक यसको बारेमा ध्यानाकर्षण गरायौं । मधेसको शिक्षाको बिकासका लागि सरकारले केही गर्न मान्दैन् । विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै हामीले सरकारलाई आग्रह गरे पनि कुनै सुनुवाई नभएपछि हामी बाध्यभएर आन्दोलनमा उत्रिन बाध्य भएका छौं’ विधार्थी मोर्चाका अध्यक्ष साहले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोध भएको आराप उनीहरुले लगाए । प्रधानमन्त्री, शिक्षामन्त्रीको विरोधमा नाराबाजी गर्दै उनीहरुले विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्न समेत गरेका छन् । सरकारलाई पटक पटक आग्रह गर्दा समेत विधार्थीको भविष्यसंग खेलवाड गरेको आरोप आन्दोलनकारीको छ ।

‘प्रधानमन्त्री, शिक्षामन्त्रीले आज राष्ट्रिय शिक्षा दिवसको अवसरमा ठुल्लाठुल्ला कुरा गर्दै शुभकामना दिएका छन् । हामीलाई उहाँहरुको शुभकामना भन्दा पनि शिक्षकको व्यवस्था गरिदिए आभारी हुन्थ्यौं’ विधार्थी मोर्चाका इन्चार्ज कुशवाहाले भने, ‘उहाँहरुको शुभकामनाले विधार्थीको भविष्य उज्जवल हुदैन्, विधार्थीको अनुपातमा हामी शिक्षकको व्यवस्था गर्छौ, कतै पनि शिक्षकको अभाव हुन दिदैनौं भनेर भनेको भए र सोही अनुसार शिक्षकको व्यवस्था गरेको भए हामीले आज राष्ट्रिय शिक्षा दिवसकै दिन आन्दोलन गर्नुपर्दैन्थ्यो ।’

विधार्थी मोर्चाले मधेस प्रदेशमा विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ । आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका बिभिन्न कार्यक्रम गरिरहेको छ ।

आजपाले मधेसका जिल्लाहरुमा भदौ २५ गतेदेखी ३० गतेसम्म प्रत्येक विद्यालयहरुमा संघर्ष समिति गठन गरेको छ । मधेसका बिभिन्न जिल्ला र प्रमुख शहरहरुमा असोज २ गतेदेखी ४ गतेसम्म विद्यार्थीहरुको विशेष प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसकै दिन असोज ३ गते संविधानको अन्त्यष्टी यात्रा प्रत्येक जिल्लामा निकाल्ने र वीरगंज, जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ ।

यसैगरी असोज ९ गते देखी २० गतेसम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थाको बिषयमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्ने र कार्तिक ५ गतेदेखि आम शैक्षिक हडताल गर्ने घोषणा आजपाले यस अघि नै गरिसकेको छ ।

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था शिक्षा मन्त्रालयले नगरेको आजपा केन्द्रीय सदस्य एवं प्रवक्ता डा. हेमप्रसाद साहले जनाएका छन् ।