गौर नगरपालिकाले विपन्न, दैनिक ज्यालादारी, मजदुरलाई राहत वितरण

477

रौतहट, २१ चैत्र । रौतहटको गौर नगरपालिकाले विपन्न, दैनिक ज्यालादारी, मजदुर लगायतलाई राहत वितरण गर्ने कार्यलाई जारी राखेको छ । लकडाउनको कारण विशेषगरी विपन्न, दैनिक ज्यालादारी, मजदुर वर्गलाई निकै समस्या परिरहेको छ । उनीहरुलाई खाद्यान्नको अभावले हातमुख जोर्न पनि धौधौ परेको छ । यस्तै समस्यामा परेका गौर नगरपालिका विभिन्न वडाका वस्तीहरुमा गएर त्यस्ता परिवारलाई नगरपालिकाले राहत वितरण गरिरहेको नगरप्रमुख अजय गुप्ताले जानकारी दिनुभयो । नगरपालिकाले हालसम्म ६ सयभन्दा बढी घरपरिवारलाई राहत वितरण गरेको र यसलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।

नगरपालिकामा रहेका मुसहर, चमार, डोम समुदायका दैनिक ज्यालाजारी गर्ने एवम् विपन्न परिवारलाई राहत वितरण गरिरहेको बताउँदै यसलाई प्रत्येक विपन्न घरपरिवारसम्म पु¥याइने बताउनुभयो । गौर नगरपालिकामा कोही भोकै बस्नुपर्दैन्, यो मेरो वाचा भयो,’ नगरप्रमुख गुप्ताले भन्नुभयो, ‘विपन्न परिवारको जुन घरमा खाद्यान्न अभाव भएको छ, त्यो घरमा खाद्यान्न हामी पु¥याउँछौँ । विभिन्न स्थानीय तहहरुमा राहत वितरणमा अनियमिता भइरहेको र सम्पन्न परिवारले पनि राहतमा दाबी गरिरहेको समाचारहरु आइरहेका बेला गौर नगरपालिकामा त्यस्तो हुन नदिन नगरप्रमुख गुप्ता आफै सक्रिय भएर राहत वितरण गरिरहेका छन् । जसलाई वास्तवमा राहत चाहिएको हो, उसैले पाओस् भन्ने कुरामा आफु निकै सचेत र सजक भएर लागिपरेको गुप्ता बताउनुहुन्छ ।

‘हामीसँग दलित, विपन्न, दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रेर्कड छ,’ उहाँले भन्नुभयो, ‘त्यहीँ रेकर्डलाई आधार मानेर राहत वितरण गरिरहेका छौँ । नगरप्रमुखको हैसियतले मैले पनि त्यस्ता परिवारलाई व्यक्तिगत रुपमा पनि चिन्छु । त्यसैले राहत गलत हातमा जाने सम्भावना निकै कम छ ।’ उहाँले राहत पाउनुपर्ने कोही छुटेको भए आफूलाई जानकारी दिए तुरुन्त राहत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नगरपालिकाले राहत स्वरुप १० किलो चामल, डेढ किलो दाल, आधा लिटर खाने तेल, ३ किलो आलु, १ किलो नुन एक प्याकेट साबुन वितरण गरिरहेको छ । यो राहत वितरण कार्यलाई लकडाउन अवधिभरि जारी राख्ने नगरपालिकाले जनाएको छ । यदि लकडाउन नखुलेमा तथा अहिले विरतण गरिएको राहत सकिएमा पुनः वितरण गर्ने तयारी नगरपालिकाले गरिरहेको बताइएको छ ।

रौतहट जिल्लामा पूर्ण रुपमा सर्टडाउनको अवस्था रहेको छ । यहाँ स्थानीय प्रशासनले औषधी पसलबाहेक अन्य पसलहरु खोल्न दिएको छैन । कसैलाई दैनिक उपभोग्य वस्तुहरुको आवश्यकता परेमा विक्रेतालाई फोन गरेर घरमै सामान पु¥याउने व्यवस्था यहाँका गौर, चन्द्रपुर लगायतका स्थानीय तहहरुले गरेका छन् ।