भारत र चीनसँगको सबै नाका बन्द

400

काठमाडौं // कोभिड–१९ नाम दिइएको कोरोनाभाइरसको सङ्क्रमण नेपालमा भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सोमबारदेखि भारत र चीनसँगको सबै नाका बन्द गराएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सीमा नाका बन्द गराइएको हो । 

बैठकको निर्णयअनुसार सोमबार बिहान १० बजेदेखि भारत र चीनको कुनैपनि नाकाबाट यात्रु आवागमन गर्न पाइने छैन । यो क्रम एक सातासम्म जारी रहनेछ । 

यसैबीच सीमा वारपारको ढुवानी भने नियमित हुने सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खटिवडाले जानकारी दिए । 

यस्तै सरकारले सोमबारदेखि नै लामो दूरीको सवारीसाधन सञ्चालनमा रोक लगाएको छ भने आइतबारदेखि नै नेपाल आउने अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ ।