कोरोना भाइरस (कोभिड–१९) को नगरपालिकाद्वारा सम्पूर्ण हाटबजार बन्द

243

रौतहट, ९ चैत । रौतहटको चन्द्रपुर नगरपालिकाले नगरपालिका भित्र लाग्दै आएका सम्पूर्ण हाटबजारहरु बन्द गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको रोकथाम गर्ने उद्धेश्यले नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

हाटबजारमा ठूलो संख्यामा मानिसहरुको भीडभाड हुने हुँदा कोरोना एकैसाथ धेरै व्यक्तिमा फैलन सक्ने जोखिम भएकाले यस्तो निर्णय गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताउनुभयो ।

उहाँले हाटबजारमा मानिसहरुको अव्यवस्थित भीड हुने भएकाले संक्रमणको जोखिम उच्च रहेकाले बन्द गर्नु परेको बताउँदै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई आग्रह गर्नुभयो ।

नगरपालिकाको जुडीबेला, गैडाटार, चन्द्रनिगाहपुर, डुमरिया लगायतका स्थानहरुमा साताको दुईपटक हाटबजार लाग्ने गरेको छ ।

नगरपालिकाले चैत मसान्तसम्मका लागि हाटबजार बन्द गर्ने निर्णय गरेको हो । साथै नगरपालिकाले सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले भीडभाडहरु हुने कुनै पनि किसिमको कार्यक्रम भेला आयोजना गर्न पनि रोक लगाएको छ ।

नगरपालिकाले नगरवासीलाई पटक पटक सावुनपानीले हातधुन, कसैसँग पनि हात नमिलाउन, प्रशस्तमात्रामा हरियो तरकारी, सागपात तथा फलफूलको सेवन गर्न र माछा, मासु नखान नगरवासीलाई अपिल गरेको छ ।

यस अघि नगरपालिकाले कोरोनाको जोखिम बढेपनि हाटबजार भने निरन्तर सञ्चालन गर्न दिइरहेको थियो । ती हाट बजारहरु तुरुन्त बन्द गर्नु पर्ने भन्दै स्थानीयवासीले नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

यता जिल्लाकै माधवनारायण नगरपालिका कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।

आजदेखि चैत २१ गतेसम्मका लागि नगरपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिनुभयो ।

नेपाल सरकारको निर्णय तथा कोरोनाको संक्रमण फैलिन नदिन सो निर्णय गरिएको बताउँदै यस अवधिभर स्वास्थ्य संस्था भने यथावत रुपमानै सञ्चालन रहने जानकारी दिनुभयो ।