अमेरिकामा कोरोना भाइरस खोपको परीक्षण सुरु

294

न्युयोर्क  । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुने रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरू विभिन्न परीक्षण गरिरहेका छन् । सानोफी र रिजेनेरोन नामक औषधि निर्माण गर्ने कम्पनीहरूले अहिले केभ्जारा नामक औषधिको परीक्षण गरिरहेका छन् ।

प्रायः रूमटोइड आर्थ्राईटिस अर्थात् बाथ रोगको उपचारमा प्रयोग हुने सो औषधि ४ सय बिरामीमा परीक्षण गरिँदैछ । न्युयोर्कमा सो खोजको परीक्षण सुरु गरिएको हो । मोनोक्लोनल एन्टीबडी पनि भनिने सो औषधिले कोरोना भाइरसप्रति शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउने अतिसक्रियतालाई घटाउन सहयोग पु¥याउने अपेक्षा गरिएको विज्ञहरूले बताएका छन् ।

स्पेनका अनुसन्धानकर्ताहरूले पनि औषधिको परीक्षण गरिरहेका छन् । उनीहरूले एचआईभी अर्थात् ह्यूमन इम्यूनोडिफिशेन्सी भाइरसबाट संक्रमित भएका मानिसको उपचार गर्न प्रयोग गरिने औषधि कोभिड–१९ बाट पीडित २ सय बिरामीमा परीक्षण गरिसकेका छन् । उनीहरूले कोरोना भाइरस संक्रामक रहिरहने अवधिलाई त्यो औषधिले कम गर्ने अपेक्षा गरेका छन् ।

ती बिरामीको संसर्गमा आएका झन्डै ३ हजारमा हाईड्रोक्लोरोक्वाईन नामक औषधि दिइनेछ । त्यो औषधि औलो रोग लागेका बिरामीलाई दिने गरिएको छ । त्यसले पनि कोरोनाभाइरसको फैलिने क्रम रोक्ने अपेक्षा गरिएको छ । अमेरिकामा कोरोनाभाइरसविरुद्ध विकसित खोपको परीक्षण मानिसमा भर्खरै सुरु भएको छ ।
वाशिंगटन राज्यको सीयाटलमा चार बिरामीलाई सो खोप सुईमार्फत् दिइएको समाचारसंस्था एपीले जनाएको छ । सो खोपबाट कोरोनाभाइरसको संक्रमण रोक्ने विश्वास गरिएको छ । सो भाइरसलाई रोग लगाउने सक्षम बनाउने जिनेटिक कोड अर्थात् आनुवंशिक संरचनाको संकेतको प्रतिलिपि प्रयोग गरेर खोप बनाइएको हो । तर त्यो प्रतिलिपिले मानव शरीरमा हानी गर्दैन ।

विज्ञहरूका अनुसार त्यो खोप प्रभावकारिता थाहा पाउन केही महिना लाग्नेछ । अमेरिकामा सरकारले राज्य सरकारहरूलाई कोरोनाभाइरस परीक्षण किट विकास गर्न प्रेरित गरिरहेको छ । यसका लागि औषधि विकास नियमन गर्न बनाइएका कानुनी प्रावधान खुकुलो पार्ने तयारी गरिएको छ ।