राज्यमन्त्रीले राजिनामा दिएको २ दिनपछि मुख्यमन्त्री राउतले राजीनामा बारे बाेले

529

जनकपुरधाम । प्रदेश सरकारका एक राज्यमन्त्रीले राजिनामा दिएको दुई दिनपछि मुख्यमन्त्री लालबाबु राउतले राजीनामा सम्बन्धमा मुख खोलेका छन् । उनले सरकारको कामसंग असन्तुष्टिले होइन उहाँहरुको आफ्नै पार्टीका कारणले राजिनामा आएको बताए ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार राजीनामा दिएकी थिइन् । राज्यमन्त्री झाले आफू सरकारको कामदेखि सन्तुष्ट नरहेकाले राजीनामा दिएको बताएकी थिइन् । डा. झा राजपा कोटाबाट राज्मन्त्री भएकी थिइन । राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाको श्रीमती समेत रहेकी डा. झाको राजिनामा सम्बन्धमा मुख्यमन्त्रीको प्रतिक्रिया आएपछि राजपामा कुन यस्तो विवाद भएको वा मुख्यमन्त्रीले ध्यान अर्कैतर्फ मोड्न यसप्रकारको प्रतिक्रिया दिएको विश्लेषक वर्गमा चर्चाको विषय वनेको छ ।

केहीले धेरै दिनदेखि उपभोक्ता समितिहरूको पैसा फछर्यौटमा मुख्यमन्त्रीले गम्भीरता नदेखाएकाले डा. झा असन्तुष्ट बनेको बताइरहेका छन् ।
‘मानिसहरू हामीलाई फोन गर्छन्, हाम्रो पैसा किन रोकियो भनेर ? क्याबिनेट पैसा दिन पास गरे पनि अहिलेसम्म पैसा दिइएको छैन ।’ उनले राजीनामा दिएको दिन नै संचारकर्मीहरुलाई बताएकी थिइन् । सरकारमा मुकदर्शक बनेर रहनेबाहेक कुनै काम नरहेकाले असन्तुष्ट भएर राजीनामा दिएको उनले बताइन् ।

एकलौटी रूपमा प्रदेश सरकारले काम गरिरहेको उनको आरोप रहेको छ । तर केहीले राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसंगै विवाद रहेको दाबी गरिरहेको छ । मुख्यमन्त्री राउतको संकेतपनि उतै देखाइएको छ । मन्त्री सोनलले राज्यमन्त्री डा. झालाई कुनै अधिकार दिएको थिएन । यतिसम्म कि डा. झाको जिल्लामा बजेट दिदापनि उहाँभन्दा समाजवादी पार्टीको तर्फबाट कृषि राज्यमन्त्री रहेका योगेन्द्रराय यादवलाई वढी सुनेको मन्त्रालयमै चर्चा रहेको छ ।

राजीनामाबारे मुख्यमन्त्रीलाई टेलिफोनले मात्रै जानकारी गराएकी छिन । राजीनामापत्र राजपा संसदीय दलका अध्यक्ष जितेन्द्र सोनललाई बुझाएर डा. झा काठमाडौ गइसकेकी छिन् । राजिनामा सम्बन्धमा टेलिफोनबाट जानकारी भएको तर आफू कहाँ कुनै पत्र नआएको मुख्यमन्त्री राउतले पनि आज सञ्चारकर्मीहरुसंग कुरो गर्दै स्वीकार गरेका छन् ।

डा. झाको राजिनामा सम्बन्धमा राजपा अध्यक्षमण्डलमा अहिलेसम्म कुनै छलफल भएको छैन । प्रदेश २ मा नेकपासंग मिलेर सरकारमा जाने वा पुरानै गठबन्धनलाई निरन्तरता दिने विषयमा राजपाकै केही वरिष्ठहरुमा मतभिन्नता देखिएको छ । राजपा स्रोतका अनुसार यो विषयमा टुंगोलागेपछि नै मन्त्रीको राजिनामा फिर्ता हुने स्वीकृत हुने त्यसमा निर्णय गरिने छ ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ यो राजीनामाले सरकारको एउटा मात्रै इँट्टा खसेको नभई पूरै पर्खाल नै खस्ने संकेत आफूले अहिलेपनि देखिरहेको बताउँछन् । फागुन दोस्रो सातासम्म सरकार नै परिवर्तन हुने संकेत समेत देखिएको उनको बुझाइ छ । राजपा र समाजवादी पार्टीका नेताहरु बीच समाजिक सञ्जाल दिनदिनै एकअर्का विरुद्ध देखन चलिरहेको छ ।

केही दिन अघि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका ज्वाई एवं राजपा नेता अनिल महासेठको प्रदेश २ सरकार प्रति कडा प्रतिक्रिया आएको थियो । उनले समाजिक सञ्जालमा लेखेका थिए, ‘प्रदेश २ सरकारको नेतृत्वकर्ता मुख्यमन्त्री लाल बाबु राउत जिसँगै त्यो सरकारको लोकसेबा आयोग पास मन्त्रीज्युहरु तपाईहरुको सरकारको दोस्रो बर्षको ६ महिनामा एक रुपैया पनि बिकाश खर्च गर्न सक्नु भएको छैन ! पुरानो बर्ष को उपभोक्ताहरुको पैसा त तिर्न सक्नु भएन, अझ पनि समय छ ।’
‘सिरियस हुनुस्’, लेख्दै उनले तपाईंहरुको यस्तै क्रियाकलाप रह्यो भने सयौंको सहादतले प्राप्त संघीयता लगायतको उप्लब्धीसंगै तपाईंहरुको पद पनि धरापमा पर्ने चेतावनी दिएका थिए ।राजधानी दैनिकमा समाचार राखिएकाे छ ।