प्रहरीलाई घुस दिन खोज्ने महिलाविरुद्ध भ्रष्टाचार मुद्दा

455

वीरगञ्ज– प्रहरीलाई घुस दिन खोज्ने एक महिलाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएकाे छ।

प्रहरीलाई घुस दिन खोज्ने पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने अम्बेया खातनुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

भन्सार छलेर ल्याएको कपडा छुटाइदिन तथा अगामी दिनमा सहजिकरण गरि दिन भन्दै बाराको इलाका प्रहरी कार्यालय, जीतपुरका प्रहरीलाई २८ हजार घुस दिन खोज्दा खातुन पक्राउ परेकी थिइन्।

घुस दिन खोज्दा खातुनलाई प्रहरीले नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष कारवाहीका लागि बुझाएको थियो।

अनुसन्धानको सिलसिलामा आरोपित खातुनले भन्सार छलि ल्याएको सामानहरु छुटाइदिने कामको लागि राष्ट्रसेवक प्रहरी कर्मचारीलाई प्रभाव पार्न अठ्ठाइस हजार घुस दिएको तथ्य पुष्टि हुन आएकोले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार २८ हजार रुपैयाँ बिगो कायम गरि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए।