तराइमा बाक्लो हुस्सु, पहाडी भूभागमा मौसममा सुधार हुने

575

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको जनाएको छ । 

हिजोसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएको र हाल देशको पहाडी भूभाग लगायत उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । 

मौसमविद् बरुण पौडेलले आज र भोलि मौसममा सुधार हुने जनाए । आज राजधानी काठमाडौंको तापक्रम बिहान २ दशमलब ५ डिग्री सेल्सियस रहेकोमा अहिले केही बढेको छ ।

आज आइतबार देशको उच्च हिमाली भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । 

राति देशको पहाडी भूभागलगायत उच्च हिमाली भूभागमा आंशिक बदली रहने जनाइएको छ । 

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाई छ । 

भोलि सोमबार देशको उच्च हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आउँदो मंगलबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने र देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

मंगलबार राति देशको पश्चिमी र मध्य भूभागमा आंशिक देखि सामान्य बदली रहने र देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ । 

महाशाखाले आगामी २४ घण्टा मौसम खुले पनि बिहान र बेलुका चिसो रहने हुनाले चिसोबाट जोगिन सबैमा अनुरोध गरेको छ ।