जिप र मोटरसाइकल ठोक्किँदा श्रीमान श्रीमतीकाे मृत्यु , छोरा घाइते

320

जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको ज्यान गएको छ । धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

बुधबार दिउँसो गणेशमान चारनाथ नगरपालिका-६ गोदारस्थित भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनका पत्नी ४० वर्षीय प्रमिला साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दुर्घटनामा मोटरसाइकमै सवार साहका ९ वर्षीय छोरा समान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बताए।

पुर्व–पश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो ठोक्किँदा घटनास्थलमै दुवैजनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक कार्कीले जनाए।

मृतक श्रीमान श्रीमती दुबैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइ रहेको उनले बताए। घाइते जोनलाई उपचारका लागि समर अस्पताल गोदार पठाइएको उनले बताए । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीको भनाइ छ।