छात्रालाई गाडीले ठक्कर दिएपछि गाडीमा आगजनी र तोडफोड

643

काठमाडौं, पुस ७ //चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई गाडीले ठक्कर दिएपछि बिहानैदेखि चावहिल क्षेत्र तनावग्रस्त बनेको छ।

बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई आज सोमबार बिहान बा ७ ख ५९३० नम्बरको गाडीले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।

विद्यार्थीले केही गाडीमा आगजनी र तोडफोडसमेत गरेका छन्।

घाइते पन्तको अवस्था गम्भीर रहेको बताइएको छ। पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका हुन्।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका प्रहरीले जनाएको छ।

अहिले पनि चावहिल क्षेत्रको अवस्था तनावग्रस्त छ। पशुपति क्याम्पस वरपर ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ।नेपालखबर