जनकपुरमा अस्थायी शिक्षक पक्राउ

720

१९ कात्तिक, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ३० जना भन्दा बढी अस्थायी शिक्षक पक्राउ परेका छन् ।मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने योजना अस्थायी शिक्षकहरुले बनाएका थिए ।

सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने माग राखेका छन् । ताला लगाउन गएका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादव सहितलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

यसअघि अस्थायी शिक्षकहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजाम गरेका थिए । त्यसअघि, अस्थायी शिक्षकहरुले असार २० गतेदेखि एक महिनासम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएका थिए ।