कोरोना भाइरसका कारण चीनमा एक अमेरिकी नागरिकको मृत्यु

1725
चीनको वुहानमा गाडीभित्र प्यासेन्जरको स्वास्थ्य जाँच गर्दै एक स्वाथ्यकर्मी (तस्बिरः रोयटर्स)

काठमाडौं, माघ २५ कोरोना भाइरसका कारण चीनमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। चीनको वुहानमा रहेका एक अमेरिकी नागरिकको कोरोना भाइरसका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

यसअघि चीनमा रहेका विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएको समाचार सार्वजनिक भए पनि मृत्यु भएको समाचार भने आएको थिएन।

‘कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएका एक ६०–वर्षीय अमेरिकी नागरिकको वुहानस्थित एक अस्पतालमा बिहीबार मृत्यु भएको पुष्टि भएको छ,’ अमेरिकी दूतावासलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। तर ती व्यक्तिको लैंगिक पहिचान खुलाइएको छैन।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको मानिन्छ।

कोरोना भाइरसका कारण अहिलेसम्म ७२२ जनाको मृत्यु भइसेको र ३४ हजार ५४६ जना संक्रमित भएको समचार संस्था अल जजिराले जनाएको छ।