गौर नगरपालिकाका निवर्तमान मेयर गुप्ता लगायत ठुलो संख्यामा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश

233

रौतहट // रौतहट जिल्लाको सदरमुकाम गौरमा नेकपा एमाले रौतहट जिल्ला कमिटीद्वारा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार भ्रष्टाचारमा चुलुर्म डुबेर देश डुबाउन लागेको आरोप लगाए।

उनले अहिलेको गठबन्धन सरकार देश लुट्नकै लागि बनेको दावी गर्दै गठबन्धन मंसिर ४ गते नेपाली जनताले मतदानद्वारा पखाल्ने विश्वास व्यक्त गरे। उनले आफ्नो नेतृत्वमा रहेको सरकारले देशमा धेरै विकासको आयोजना सुरू गरेको तर गठबन्धन सरकार बन्ने बित्तिकै ती आयोजनाहरु रोकेर देश बिरोधी काम गरेको दावी गरे ।

‘गठबन्धन सरकारले मेरो नेतृत्वको सरकारले गरेको विकास निर्माणका कामहरु रोकेर जनविरोधी, विकास विरोधी कार्य गरेको छ’ उनले भने ‘मंसिर ४ को निर्वाचनमा नेपाली जनताले गठबन्धनलाई पाखा लगाएर नेकपा एमालेलाई सरकारमा पुर्याउनेछन् ।’ अर्को एक प्रसङ्गमा उनले माधव नेपालले प्रधानमन्त्री हुँदा विकासको नाममा सिन्को समेत नभाचेको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले अरु सरकारले २०(३० वर्षमा गर्न नसकेको काम ३ वर्षमानै गरेको दावी गरे। उनले आफु प्रधानमन्त्री हुँदा भारतसँग कुरा गरी नेपालको डुबानको निकासको लागि पहल गरेपनि अहिलेको सरकार मुकदर्शक बनेको आरोप लगाए।

‘मंसिर ४ पछि नेकपा एमालेको‌ बहुमतको सरकार बन्छ, गठबन्धन पराजित हुन्छ,’ उनको दावी थियो, ‘अरु दल देश बिगार्न तत्पर छन्, नेकपा एमाले बनाउन। यसको मूल्याङ्कन जनताले निर्वाचनमा गर्नेछन्।’ उनले आगामी निर्वाचनमा नेकपा एमालेले प्रदेश तथा केन्द्रमा बहुमत ल्याउने ठोकुवा गरे।
सो पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी का केन्द्रिय महासचिव तथा गौर नगरपालिकाका निवर्तमान मेयर अजय गुप्ता, नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी लगायत ठुलो संख्यामा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए। नव प्रवेशीहरुलाई अध्यक्ष ओली, पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलगायतले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका थिए। रौतहट जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ठुलो संख्यामा जनमानसको सहभागिता रहेको थियो।