राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै हुने

106

काठमाडौं, असोज २६ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै हुने भएको छ। मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन् ।

परीक्षा तालिका र मोडालीटीबारे एक–दुई दिनमा निर्णय सार्वजनिक गरिने बताउँदै उनले छठ लगतै परीक्षा लिने गरि तयारी थालेको जानकारी गराएका छन् ।

बुधवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीनै तहले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षा सञ्चालनको स्वीकृति दिएको जानकारी दिएका थिए।

मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयको सिफारिसमा आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो। 

कोरोना महामारी कम भएका जिल्लाहरुमा भौतिक दूरी कायम राखेर तथा स्वास्थ्यका मापदण्ड पुरा गरेर मात्र परीक्षा लिन पाउने छ ।