कोरोना भाइरसबाट संक्रमितमध्ये थप ८ जना आज बिहान डिस्चार्ज

242

विराटनगर, वैशाख २६ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये थप ८ जना आज बिहान डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएका मध्ये ८ जना कोरोना निको भएर डिस्चार्ज भएका हुन् ।

उनीहरुको दुई पटकसम्म स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । डिस्चार्ज हुनेमा ७ नेपाली र एक जना भारतीय नागरिक छन् ।

उनीहरु सबै उदयपुरमा फेला परेका संक्रमित हुन् । ९ वैशाखमा उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको थियो ।

अस्पताल भर्ना भएको १४ दिन अवधि पुगेका १५ जनाको पीसीआर परीक्षण गर्दा बिहीबार ८ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

शुक्रबार डिस्चार्ज भएका ८ जनासँगै भर्ना भएका ७ जनाको रिपोर्ट भने पोजिटिभ आएको छ। रिपोर्ट पोजिटिभ आएकालाई भने चिकित्सकको निगरानीमा थप उपचार जारी राखिने कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा संगीता मिश्राले बताइन् ।