लागु औषधमा मुद्दामा आरोपित मेयर मेहता र भाई माथि मुद्दा नचल्ने ठहर

527

रौतहट, ५ वैशाख । रौतहटको इशनाथ नगरपालिकाको प्रमुख र नेकपा नगर कमिटिका अध्यक्ष विरुद्ध प्रहरीले लगाएको लागु औषध ओसारपसारको अभियोगमा प्रमाणको अभावमा मुद्दा नचल्ने जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरले निर्णय गरेको छ ।
लागु औषध ओसार पसारमा मेयर र एम्बुलेन्स संचालन समितिका अध्यक्ष एवं नेकपा नगर कमिटीका अध्यक्षको संलग्नता रहेको नदेखिदा दुवै जना माथि मुद्दा नचल्ने निर्णय शुक्रवार गरेको हो ।
इशनाथ नपाद्धारा संचालित बा. २ झ. १७४९ एम्बुलेन्सलाई गत माघ १० गते हेटौडा उपमहानगरपालिका १९ नेवारपानी नेपाल प्रहरीले रोकेर चेकजाँच गर्दा ३ वटा झोलामा ३० किलो ६०० ग्राम लागुऔषध गाँजा, ९१ हजार नेपाली रुपैया, २२ सय भारतीय रुपैया, चालक इशनाथ ९ डुमरियाका महम्मद खालिद, सोही नपाका अशोक कुमार भारत विहार मोतिहारी बसतपुरका विनोद सहनीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया मकवानपुर प्रहरीले सुरु गरेका थिए ।
प्रहरीले लागु औषध ओसार पसार गरेको अभियोजन तयार पारेर जिल्ला अदालत मकवानपुरमा पेश गर्दा मुलकी फौजदारी कार्य विधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम अनुसार रौतहटको इशनाथ नगरपालिकाको मेयर सन्तोष मेहता र निजका भाई एम्बुलेन्स संचालन समितिको अध्यक्ष मोहन मेहतालाई पक्राउ गरेर उपस्थित गराउन चैत १७ गते आदेश जारी गरेका थिए ।
जिल्ला आदेशको उक्त आदेशलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध अनुसन्धान तथा कारवाही शाखाले चैत १७ गते जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान तथा कारवाही शालालाई पत्र पठाएपनि कोरोना भाइरस एवं राजनितिक चलखेलको आधारमा रौतहट प्रहरीले पक्राउ गर्नु अघि नै फरार भए ।
सोही मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले प्रहरीको अभियोजन पत्रमा इशनाथको मेयर मेहता र एम्बुलेन्स संचालन समितिको अध्यक्ष मोहनको संलग्नता नदेखिएको हुँदा दुवै जनाको हकमा मुद्दा नचल्ने निर्णय शुक्रवार गरिएको छ ।
अन्य तिन जना व्यक्तिको हकमा मुद्दा चल्ने उनले भने । जिल्ला अदालत मकवानपुरले मेहताद्धय माथि कसरी पक्राउ पुर्जी जारी गरेको प्रश्नको जवाफमा जिल्ला न्यायाधिवक्ता कटुवालले प्रदेश प्रहरी कार्यालय जनकपुरको पत्रको आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गरिएको तर अभियोजन पत्रमा दुवै जना संलग्न हुने खालका कुनै प्रमाण नरहेको हुँदा मुद्दा चलाउन नमिल्ने पछि प्रमाण आएमा मुद्दा चल्ने जानकारी उनले दिए । आजै मेयर मेहता र उनका भाई मोहनलाई सरकारी वकिल कार्यालयबाट छोड्ने आदेश भएको तथा एम्बुलेन्स समेत छाडिएको बताए ।