कोरोना भाइरसका कारण प्रदेश एक सरकारले प्रमुख नाकाहरु समन्वय गरी बन्द

241

मोरङ-कोविड १९ कोरोना भाइरसका कारण प्रदेश एक सरकारले प्रमुख नाकाहरु समन्वय गरी बन्द तथा व्‍यवस्थित गर्नका लागि संघीय सरकार समक्ष अनुरोध गर्ने जनाएको छ।

शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न कोविड १९ रोकथाम, प्रतिरक्षा, र उपचार ब्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले विभिन्न १२ वटा निर्णय समेत गरेको छ।

बैठकले विराटनगरस्थित नेशनल ट्रेडिङ लिमिटेडको भवनमा ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिए।

बैठकले कम्तीमा १० वटा भेन्टिलेटरसहितको अस्पताल निर्माणका लागि सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयलाई एक साताभित्र अस्पताल निर्माणको जिम्मा दिने जनाएको छ। अस्पताल निर्माणका लागि आवश्यक सहयोग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट लिने निर्णय बैठकले गरेको छ।

त्यसैगरि, बैठकले रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोविड १९ संक्रमण, रोकथाम, तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय कार्वान्वयन गर्ने निर्णय गरेको छ।

बैठकले प्रदेश एक अन्तर्गतका प्रमुख नाका ब्यवस्थित गर्ने, साना नाकामा आवातजावतमा कडाई गर्ने र तत्काल साना नाका बन्द गर्न संघीय सरकारसमक्ष अनुरोध गर्ने उल्लेख गरेको छ।

चौतर्फी भाइरसका कारण संत्रास फैलिदै गएकोमा बैठकले प्रदेशस्थित सरकारी कार्यालय तथा गैह्र सरकारी सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा साबुनपानीको ब्यवस्था गर्न निर्देशन दिएको छ।त्यसैगरी, बैठकले मेला, हाट बजार, बनभोज लगायतका कार्यक्रमलाई निषेधको निर्णयलाई निरन्तरता दिने जनाएको छ ।

यसअघि शुक्रबार नै सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, कोशी अस्पतालकी निमित्त मे.सु डा. संगीता मिश्रा लगायतको टोलीले अस्पताल निर्माणस्थल ट्रेडिङको भवन निरीक्षण गरेका थिए।

डा. मिश्राका अनुसार निरीक्षण भएको भवनमा तत्कालका लागि आइसोलेसन वार्ड तयार गर्ने योजना भएको छ। कोविड १९ लाई केन्द्रित गर्दै संक्रमितको संख्या बढेको खण्डमा त्यस भवनलाई प्रयोग गर्ने तयारी भइरहेको उनको भनाइ छ।