आफ्नै भाउजुको हत्या गर्ने प्रयास गरेको आरोपमा देवरलाई रौतहट प्रहरीले पक्राउ

957

रौतहट, ४ चैत्र । घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरेर आफ्नै भाउजुको हत्या गर्ने प्रयास गरेको आरोपमा देवरलाई रौतहट प्रहरीले पक्राउ गरेका छन ।
रौतहटको यमुनामाई गाँउपालिका १ जेठरहियाकी श्रीमती पुनम सहनी घरमा तिन छोरा र एक छोरी संग सुतिरहेको अवस्थामा सोमवार विहान ४ बजेको समयमा धारिलो खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएका हुन् । स्थानीय प्रहरी चौकी शुकदेव चोकबाट इलाका प्रहरी कार्यालय गरुडामा खवर प्राप्त भएपछि घटनाको अनुसन्धान गर्दै जाँदा धारिलो खुकुरी प्रहार गर्ने उनकै देवर राजु कुमार सहनी रहेको प्रमाणित भएपछि निजलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै कोठामा सुति रहेकी पुनमलाई देवर सहनीले घरायसी विवादका कारण खुकुरी हानेर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
भाउजुलाई टाउकोमा खुकुरी हानेको सहनीले प्रहरी समक्ष स्वीकार गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले बताए । पक्राउ परेका सहनीका साथ बाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी समेत बरामद भएको उनले बताए । सहनीलाई जिल्ला अदालत गौरबाट म्याद थप गरेर मुलुकी ऐन अनुसार ज्यान मार्ने कसुर अन्तर्गत मुद्दा चलाउने जानकारी उनले दिए ।