माल्दिभ्सको दोस्रो डिभिजन खेलमा ४ गोल प्रहार

327

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजालले माल्दिभ्सको दोस्रो डिभिजन टोली जेजे स्पोर्ट्सका लागि एकै खेलमा ४ गोल प्रहार गरेका छन् ।

अभिषेकले माहिबाधु स्पोर्ट्स क्लब विरुद्ध ४ गोल गरेपछि उनको टोली ७-३ ले विजयी भयो । जेजे का लागि अहमद ऐहाम, नाफिउ र मोहमद साहेदले १-१ गोल गरेका थिए । नेपाली यू-२३ राष्ट्रिय टोलीका गोलरक्षक एवं यू-१९ टोलीका पूर्वकप्तान अर्पण कार्की पनि यसै टोलीबाट खेल्दै आएका छन् ।

यस जितसँगै जेजे स्पोर्ट्स दोस्रो श्रेणी लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पछिल्लो सिजन शीर्ष श्रेणीमा उक्लनबाट चुकेको जेजेले सिजनको बिचमा अभिषेकलाई अनुबन्धन गरेको थियो । अर्पणले भने लगातार दोस्रो सिजन जेजेको जर्सी पहिरिएका हुन् । टोलीले यसपटक शीर्ष श्रेणीमा उक्लने लक्ष्य राखेको छ ।

अभिषेकले नेपालमा रहेर ए डिभिजन लिगको सुरुवात केहि खेल मछिन्द्रका लागि खेलेका थिए । अर्पणले भने पछिल्लो वर्ष पुलिसका लागि खेलेपनि यसपटक भने सिधै माल्दिभ्सको लिग खेलेका हुन् । उनले त्यसअघि भुटानको पारो फुटबल क्लबका लागि समेत खेलेका थिए ।