दिल्लीमा मृत्यु हुनेको संख्या २७ पुग्यो

371

भारत : भारतमा नागरिकता कानूनको विरोधमा केही दिनदेखि जारी प्रदर्शनमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । नागरिक संशोधन कानूनको विरोध गर्दै भइरहेका हिंसात्मक प्रदर्शनमा उनीहरु मारिएका हुन् । १ सय भन्दा बढी मानिस गम्भिर घाइते भएका छन् ।

हिंसात्मक घटना बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई हिंसा भएका स्थानहरुमै खटाएका छन् । उत्तरपूर्वी दिल्लीमा भारतीय जनता पार्टीका कार्यकर्ताले स्थानीय मुसलमानको घर तोडफोड गर्नुका साथै केहीको हत्या गरेपछि हिंसा थप भड्किएको छ ।

विवादास्पद नागरिकता कानुनका पक्षधर तथा विपक्षीबीच आइतवारदेखि झडप सुरु भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले शान्तिको लागि आह्वान गरेका छन् । विपक्षी कांग्रेस पार्टीले भने केन्द्रीय गृहमन्त्री अमित शाहको राजीनामा माग गरेको छ ।

दिल्लीको हिंसाग्रस्त इलाकामा सुरक्षाबलले मार्चपास समेत गरेको छ । मार्चपासमा मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदिया पनि थिए । दिल्ली उच्च अदालतले बुधबार पीडित परिवारसम्म पुग्न सरकार र प्रशासनलाई निर्देशन दिएको थियो ।