६ वर्षमा ४० अर्बका उद्योग : औद्योगिक हब बन्दै भैरहवा

503

बितेको पाँच/छ वर्षसम्म भैरहवा–परासी खण्डको परिचय हुलाकी सडकमार्गका रुपमा मात्रै थियो। अब यसको परिचय यत्तिमै सीमित रहेन। यस क्षेत्र औद्योगिक हबमा विकसित हुँदै गएपछि हुलाकी सडक खण्डसँगै करिडोरका नामले पनि चिनिन थालेको छ।

२०७० अघिसम्म भैरहवा–लुम्बिनी करिडोर र भैरहवा–बुटवल सडक खण्डको दायाँवायाँ ठूला उद्योग स्थापनाका लागि आकर्षक मानिन्थ्यो। तर, पछिल्लो ६ वर्षमा यी क्षेत्रको विकल्पमा भैरहवा–परासी खण्डको छेउछाउ उद्योगी–व्यवसायीको रोजाइमा परेको छ। यो क्षेत्र अहिले औद्योगिक करिडोरमा परिणत भएको छ। भैरहवाका उद्योगीले धमाधम यही करिडोरमा लगानी गरिरहेका छन्। पछिल्लो ६ वर्षमा मात्रै यो करिडोरमा दुई दर्जन बढी नयाँ उद्योग खुलेका छन्।

भैरहवा–बुटवल छेउछाउमा उद्योग खोल्न पर्याप्त जमिन नहुँदा र भैरहवा–लुम्बिनी खण्डमा नयाँ उद्योगका लागि सरकारले स्वीकृति नदिँदा भैरहवा–परासी क्षेत्र उद्योगीको मुख्य रोजाइमा परेको हो। विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा प्रदूषण बढ्दै गएपछि भैरहवा–लुम्बिनी क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न सरकारले रोकेको हो।

सरकारले मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने तयारी थालेको छ। तर, त्यहाँ काम अगाडि बढ्नसकेको छैन। त्यसैले उद्योगीहरुको रोजाइमा भैरहवा–परासी खण्ड परेको हो। पछिल्लो ६ वर्षमा यहाँ स्थापित ठूला उद्योगहरुमा मात्रै ४० अर्बभन्दा बढीको लगानी भइसकेको उद्योगीको दाबी छ। साना तथा मझौला उद्योगमा पनि उत्तिकै लगानी छ।

parasi corridor 2

करोडदेखि अर्बौँ लगानीसम्मका उद्योगहरु यहाँ स्थापित भई सञ्चालनमा आइसकेका छन्। करोड लगानीका साना उद्योग खोल्ने पनि धेरै छन्। लुम्बिनीमा प्रदूषण बढ्दै गएपछि भैरहवा–लुम्बिनी क्षेत्रमा १५ किमिभित्र उद्योग खोल्न नपाउने मापदण्ड राखिनु र भैरहवा–बुटवल खण्डको पूर्व–पश्चिम क्षेत्रमा जमिन नहुनु तथा अत्यधिक महंगो हुनुले भैरहवा–परासी करिडोरमा लगानीकर्ताहरु आकर्षित भएको सिद्धार्थ गु्रपका प्रबन्धनिर्देशक राजेशकुमार अग्रवालको बताए।

‘यहाँ जमिन अन्यत्रभन्दा केही सस्तो छ, सीमानाका नजिक हुँदा कच्चा पदार्थ आयात गर्न पनि सहज छ। त्यसैले पनि सबैको रोजाइ यो क्षेत्र बन्दै गएको हो’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका अग्रवालले भने। यो करिडोरमा अग्रवालले एक वर्षअघि चार अर्ब लगानीमा श्री स्टिल्स उद्योग सञ्चालनमा ल्याएका छन्। करिडोरमा स्टिल, मैदा, चामल, कार्पेट, डनलप, ह्विस्की, बियर, सफ्ट ड्रिंक, चाउचाउ, चामल, जुत्ता–चप्पल, ग्यास, पेट्रोलियम पदार्थ, दाना, अटो, प्लास्टिक, सनमाइका, पाइप, एंगलपत्ति ब्लक, कंक्रिट, रेडिमिक्स लगायत दर्जनौँ उद्योगहरु सञ्चालनमा छन्।

यहाँ अझै दर्जनौँ उद्योगहरु खुल्ने क्रममा छन्। रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले लगानीमैत्री वातावरण र प्रशस्त जमिन भएकाले अन्यत्रभन्दा यस क्षेत्रमा उद्योग खुल्ने क्रम बढेको बताए। ‘हामीले उद्योगीलाई सहज होस् भनेर माथिल्लो निकायसँग पनि सहजीकरण गर्दै आएका छौं। पालिकामा लगानीमैत्री वातावरण छ’, उनले भने। यादवले उद्योगीहरुसँग सहकार्य गरी भैरहवा–परासी करिडोरलाई नेपालकै नमूना औद्योगिक क्षेत्रका रुपमा विकसित गरिने बताए।

आधा दशकमै करिडोर बन्न सफल यस क्षेत्रमा आवश्यक विद्युत् नहुँदा उद्योगी भने निरास छन्। राज्यले उद्योग स्थापना हुने स्थानसम्म सडक मार्ग र विद्युतीकरणको व्यवस्था गर्ने जनाए पनि यहाँका उद्योगी उक्त सेवाबाट वञ्चित छन्। उद्योगीले उद्योग सञ्चालनका लागि अर्बभन्दा बढी खर्चेर वैकल्पिक ऊर्जाका रुपमा जेनेरेटर खरिद गरेका छन्। यसले उत्पादन लागत बढेको छ भने उपभोक्ता महंगीको मारमा छन्।

‘अर्बौँ लगानी भएको उद्योगहरुमा राज्यले विद्युत् दिन नसक्नु राम्रो पक्ष मानिँदैन’, एसियन कंक्रिट उद्योगका निर्देशक मनिष रुङ्गटाले भने, ‘यस्तो अवस्था रहिरहे उद्योगी पलायन हुने अवस्था आउनसक्छ।’ यस क्षेत्रमा अहिले सिटीफिडरबाट विद्युत् उपलब्ध छ। ‘यहाँका उद्योगलाई राम्रोसँग चलाउन कम्तीमा १३२ केभीए लाइन चाहिन्छ, सिटीफिडरबाट मात्रै कसरी उद्योग चलेका होलान् ? यसतर्फ राज्यले सोच्नुपर्छ’, उनले भने।

यो क्षेत्रमा अर्बको लगानीमा ५ तारे सरहको बोधी रेडशन होटल समेत सञ्चालनमा छ। यस्तै, लुम्बिनी कोइर, श्री स्टिल्स, सिद्धिविनायक फुड्स, रोहिणी एग्रो, आरती एग्रो, गज्जबको चाउचाउ, वेस्टर्न टायर बियर, रुस्लान भोड्का (विजय डिस्टिलरी), वेष्टर्न फ्लोर मिल, वरुण बेभरेजको तराई प्लान्ट (पेप्सिकोला), मिलानो सुज, इन्भीपावर इनर्जी एण्ड फर्टिलाइजरको सिएनजी ग्यास उद्योग, आसी इण्डष्ट्रिज, एचएच बजाज मोटरसाइकलको प्लान्ट, चैतन्य रेडिमिक्स कंक्रिट उद्योग लगायत दर्जनौँ ठूला–साना उद्योगहरु सञ्चालनमा छन्। यी उद्योगहरुबाट मात्रै वार्षिक अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुन्छ।