३ नम्बर प्रदेश को राजधानी हेटौंडा र प्रदेशको नाम वाग्मती तय

465

काठमाडौं ।। प्रदेश नम्बर ३ को राजधानी हेटौंडा र प्रदेशको नाम वाग्मती तय गरिएको छ ।
प्रदेश सभाको आइतबारको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेश सभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा १ सय ५ मत र काभ्रेको धुलिखेल बनाउनुपर्ने पक्षमा तीन मत मात्र खसेपछि राजधानी हेटौँडा पक्का भएको हो ।
यस्तै प्रदेशको नाम वाग्मती राख्ने पक्षमा सबै मत खसेको छ । १ सय १० सदस्यीय प्रदेश सभामा एक जना अनुपस्थित रहेको र सभामुखले मतदान नगरेकाले १ सय ८ मत खसेको थियो ।
विसं २०७४ माघ १८ गते पहिलो बैठक बसेको प्रदेशले प्रदेशसभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेशले नाम र स्थायी राजधानी प्राप्त गरेको हो ।

यससँगै नाम र स्थायी राजधानी राख्ने प्रदेशको सङ्ख्या चार पुगेको छ । अझै प्रदेश नम्बर १, २, र ५ ले आफ्नो नाम र स्थायी राजनीति तोक्न सकेका छैनन् ।