सभामुखमा सापकोटा ‘निर्विरोध’

572

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दर्ता गरेन् । यो संगै सभामुखमा नेकपाका उम्मेदवार अग्नि सापकोटाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।  मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेको थियो । रिक्त सभामुख पदका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेर कार्यसूची प्रकाशन गरिएको थियो । 

सत्ताघटक दलसँग बहुमत रहेकाले कांग्रेसको उम्मेदवारी परेको भए पनि सापकोटाको सभामुख यात्रा निश्चित थियो । यसअगाडि कृष्णबहादुर महरा उम्मेदवार बन्दा पनि कांग्रेसले उम्मेदवारी दिएको थिएन ।  सापकोटाले सुवास नेम्वाङ प्रस्तावक राखेर उम्मेदवारी दर्ता गराएका छन् । सभामुखमा सापकोटालाई राष्ट्रिय जनशक्ति पार्टी (राजपा)ले समेत समर्थन गरिसकेको छ । सभामुखमा अग्निविरूद्ध अन्य दलबाट उम्मेदवारी नपरेपछि भोटिङ नहुने भएको छ । प्रस्तावक नेम्वाङ र समर्थक देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण बोलेपछि जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्विरोध अग्निप्रसाद सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन् ।