सन्दीपले काठमाडौं किंग्सबाट इपीएल खेल्ने

389

काठमाडौं, माघ १

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपीएल) मा काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन्।

गतवर्ष ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दीप यो सिजन काठमाडौं आएका हुन्। इपीएलले ल्याएको ट्रेड प्रावधान अनुसार सन्दीप काठमाडौंबाट खेल्न लागेका हुन्।

ट्रेड प्रावधानमा दुई टोलीबीचको समझदारीमा खेलाडी किन्न सकिने प्रावधान छ। प्रावधानअनुसार हरेक खेलाडीले दुई टोलीबीच ट्रेड भएमा सो रकमको ६० प्रतिशत रकम प्राप्त गर्नेछन्।

सन्दीपलाई भित्र्याउन खर्च भएको रकमबारे खुलाइएको छैन।

सन्दीपलाई टोलीमा ल्याउनका लागि यसअघि नै प्रक्रिया थालिए पनि उनी बिग ब्यासमा व्यस्त रहेकाले ढिलो निर्णय सार्वजनिक गरिएको काठमाडौंका प्रशिक्षक विनोद दासले बताए।

सन्दीप काठमाडौं आएसँगै टोली बलियो भएको प्रशिक्षक दासले बताएका छन्। उनले भने, ‘सन्दीप टि–ट्नवान्टी फम्र्याटका लागि राम्रा खेलाडी हुन् र उनले नेपालमा मात्र नभएर विदेशी लिगमा पनि राम्रो गरिरहेकाले उनी हाम्रा लागि महत्वपुर्ण खेलाडी हुन।’

काठमाडौंले गत सिजन इपीएल खेलेका सुशील कँडेल र नरेश बुढाएरको स्थानमा सुवास खकुरेल र आकाश चन्दलाई टोलीमा समावेश गरिसकेको छ।

खेलाडी साटफेर गर्ने क्रममा चितवन टाइगर्सबाट दीपेन्द्र काठमाडौं आउँदा सोमपाल कामी भने चितवन पुगेका छन्।

यस्तै गत सिजन काठमाडौंमै रहेका आयरल्यान्डका अलराउण्डर केभीन ओ ब्रायन यो सिजन पनि काठमाडौंबाट नै खेल्ने पक्का भएको छ।