बाह्रबिसे नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका विजयी

387

रौतहट, माघ १० । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबारदेखि सुरु भएको चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएका छन् ।

शेरबहादुर दर्लामी स्मृति हातेमालो खेलमैदानमा भएको पहिलो खेलमा बाह्रबिसेले नुवाकोटको विदुर नगरपालिकालाई ४–० ले पराजित गरेको हो ।

त्यस्तै, दोस्रो खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ३–० ले हरायो ।

यही माघ १८ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका ‘उत्कृष्ट’ ८ नगरपालिकाले सहभागिता जनाएका छन् ।

विजेतालाई तीन लाख

प्रतियोगिताको विजेतालाई तीन लाख र उपविजेता टोलीलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट खेलाडीलाई एउटा स्कुटरबाट पुरस्कृत गरिने जनाइएको छ । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचजनालाई जनही १५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । रौतहट जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता भएको हो ।