बलिउडका चर्चित कोरियोग्राफरमाथि गम्भीर आरोप

370

एजेन्सी, १४ माघ । बलिउड कोरियोग्राफर (नृत्य निर्देशक) गणेश आचार्यमाथि एक महिलाले आफूलाई अश्लील फिल्म हेर्न बाध्य पारेको आरोप लगाएकी छन् ।

नृत्य निर्देशक आचार्यमाथि ३३ वर्षीय ती महिलाले उक्त आरोप लगाउँदै राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छन् । महिलाले निवेदनमा आचार्यले मुम्बईस्थित उनको अफिसमा जाँदा पोर्न भिडियो हेर्न लगाउने गरेको बताएकी छन् ।

सह नृत्य निर्देशक समेत रहेकी ती महिलाले प्रहरीमा समेत उजुरी दिएकी छन् । उजुरीमा आचार्यले फिल्म इन्डस्ट्रीमा काम लगादिए बापत कमिशन मागेको उल्लेख छ ।

साथै उनले उजुरीमा आइतबार मुम्बईको अन्धेरीमा सम्पन्न इन्डियन फिल्म एण्ड टेलिभिजन कोरियोग्राफर्स एसोशिएशन (आईएफटिसिए) को एक कार्यमक्रममा गणेश र अन्य २ जना महिलाले आफूमाथि दुर्व्यवहार गरेको उल्लेख गरेकी छन् ।

प्रहरीका अनुसार दुर्व्यवहार गर्ने महिलाको नाम जयश्री केलकर र प्रिटी लाड रहेको छ ।

उजुरी दिने महिला आईएफटिसिएकी सदस्य रहेको समाचार माध्यमले जनाएका छन् । आचार्य उक्त संस्थाका महासचिव हुन् ।

प्रहरीका अनुसार जनवरी २६ गते आचार्यले ती महिलालाई आईएफटिससिएको कार्यालयमा बोलाएका थिए । कार्यालयमा पुगेपछि महिलालाई आचार्यले गाली गरेको र संस्थाको सदस्यबाट निलम्बन गरेको प्रहरीले बताएको छ ।

आचार्यले बडिगार्ड र सिंघम जस्ता फिल्ममा नृन्य निर्देशन गरिसकेका छन् । उनी केही म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । उत्कृष्ट नृत्य निर्देशको पुरस्कार पाइसकेका आचार्यले डान्स फिल्म एनी बडी क्यान डान्समा एक्टर पनि भएका थिए ।