प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

681

जनकपुर । प्रदेश नम्बर २ सरकारले गत आर्थिक वर्षमा सम्पन्न आयोजनाहरूको बक्यौता रकम भुक्तानी नगरेको भन्दै भौतिक विकास निर्माणका लागि गठित उपभोक्ता समितिहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् । 

धनुषा र महोत्तरी लगायतका विभिन्न ठाउँबाट जम्मा भएका उपभोक्ता समितिले मंगलबार प्रदेशसभा अगाडि सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनका क्रममा मुख्यमन्त्री लालबाबु राउत र आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवको राजीनामा माग गर्दै नाराबाजी समेत गरिएको थियो ।उपभोक्ता समितिको आन्दोलनमा सहभागीले प्रदेश सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको भन्दै तत्काल राजीनामा दिन माग गरेका थिए ।

उक्त आन्दोलनप्रति सत्तारुढ दल राजपाका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश यादव र राजपा सांसद उपेन्द्र महतोले समर्थन जनाएका थिए । 

प्रदेशसभा बैठकमा सहभागी हुन जाने क्रममा उनीहरूले उपभोक्ता समितिको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । गत आर्थिक वर्ष २०७५७६ मा प्रदेश सरकारद्वारा सञ्चालित ८ सय ४२ योजनामा ८६ करोड ५२ लाख ३० हजार ४५ रुपैयाँ भुक्तानी बाँकी रहेको समितिले जनाएको छ । रातोपाटी