गढीमाई नपाद्धारा चार वटा टिपर नियन्त्रणमा

618

रौतहट, १३ माघ । रौतहटकोे गढीमाई नगरपालिका स्थित रहेको वागमती नदीबाट खोलाजन्य बस्तुको निकासी गर्नमा अनाधिकृत रुपमा बरथवा नगरपालिकाबाट हस्तक्षेप गरेपछि गढीमाई नगरपालिकाले चार वटा टिपर नियन्त्रणमा लिएका छन् । वागमती खोला पारी सम्म गढीमाई नगरपालिकाको सिमा क्षेत्र भएको तथा स्थानीय समनपुरबासीको जग्गा भएपनि बरथवा नगरपालिकाबाट ठेक्का लिएका निर्माण कम्पनीका तर्फबाट भाडाको गुण्डा राखेर बलपूर्वक खोलाजन्य बस्तुको कर लिएपछि गढीमाई नगरपालिकाको मेयर उपमेयर सहित नपाको पदाधिकारीहरु उक्त स्थानमा पुगेर चार वटा टिपर नियन्त्रणमा लिएका हुन् ।

ना ५ ख. ७५६०, ना.१ख. ५३४६, ना.७ ख. ३५२४ सहितकोे चार वटा टिपर र जेसिभे मसिनलाई नियन्त्रणमा लिएको जानकारी दिदै गढीमाई नगरपालिकाको मेयर श्याम प्रसाद यादवले गढीमाई नगरपालिकाको क्षेत्राधिकारबाट उत्खनन् गर्न इजाजत बरथवा नपालाई कसले दियो, नगरक्षेत्र भित्रबाट खोलाजन्य बस्तुको निकासी हुँदा गढीमाई नपालाई कर तिरेर मात्रै लैजान सक्ने बताए ।

नपाबाट बनाइएको बाटो प्रयोग गर्ने, नपाको क्षेत्रबाट गुण्डा शैलीमा उठाउने विरुद्ध हामी कारवाही गर्ने चाहे जस्को वा जुन प्रयोजनका लागि जाने हो, ऐन कानुन सबैको लागि बराबर रहेको चेतावनी दिए । अहिले सम्म समनपुरघाटमा ट्रेक्टरबाट मात्रै गिटी बालुवा र ग्रावेलको निकासी भईरहेको तथा मेशिन वा टिपरको प्रयोग नभएपनि बरथवा नपाबाट जथाभावी रुपमा मेशिनको प्रयोग गरेर खोलाको स्वरुप विगार्न खोज्दा बाध्य भएर उक्त टिपरहरु नियन्त्रणमा लिनुपरेको बताए ।

यस विषयमा बरथवा नगरपालिका संग कुरा गर्दा आउदो विहिवार दुवै नगरपालिकाको पदाधिकारीहरु बसेर सिमाना निर्धारण गरेपछि मात्रै खोलाजन्य बस्तु निकाल्ने मौखिक समझदारी भएको श्रोतबाट बुझिएको छ ।
श्रोतका अनुसार वरथवा नगरपालिकाबाट रसिद काटेर गढीमाई नगरपालिकाको संग्राम्पुरमा रहेका नेपाली काँग्रेस रौतहटका सभापति एवं पूर्व साँसद कृष्णप्रसाद यादवको क्रशर उद्योगमा खोलाजन्य बस्तुहरु निर्वाध रुपमा गईरहेपछि मेयरद्धारा अंकुश लगाउने कार्यको समनपुर भरी सराहना भईरहेको छ ।