मदिराले मातेका वडाध्यक्षले हामीमाथि हातपात गरे कांग्रेस कार्यकर्ताको आरोप

935

काठमाडाैँ । दाङको बबई गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर डाँगीले आफूहरूलाई कुटपिट गरेको नेपाली कांग्रेसका कार्यकर्ताले आरोप लगाएका छन्।

गएराति साढे १० बजेतिर मदिराले मातेर प्रहरीको भ्यानमा चढेर आएका वडाध्यक्ष डाँगीले आफूलाई एक्कासी कुटपिट गरेको कांग्रेस कार्यकर्ता गणेश देवकोटाले बताए।

देवकोटाका अनुसार वडाध्यक्ष ईलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी प्रमुख निरीक्षक डाक्टरप्रसाद चौधरीको गाडी सवार थिए।

‘उनीहरू रातिमा घुमिरहेका थिए, नेपाली कांग्रेस मुर्दावाद र नेकपा जिन्दावाद भन्ने नाराबाजी गरिरहेका थिए। हामी सडकमा थियौं,’ देवकोटाले भने,‘त्यही क्रममा प्रहरीको गाडीमा बसेर आएका उहाँले ममाथि हल्ला गर्ने भन्दै हान्नु भयो।’देवकोटाले वडाध्यक्ष मदिरामा मातेको तालमा आफू र अर्का कांग्रेसका युवा सुरेश खड्कामाथि समेत हातपात गरेको आरोप लगाए।

‘प्रहरीको गाडीमा आएका वडाध्यक्षले मलाई अनाहकमा दुई झापड हान्नु भयो र त्यसको विरोध गर्दा खड्कालाई पनि कुटपिट गर्नुभएको हो।’

वडाध्यक्ष डाँगीले भने आफूमाथि लगाइएको आरोप गलत भएको दाबी गरे।

‘मैले उनीहरूलाई सम्झाइबुझाइ गरेर घर जाऊ भनेर पठाएको मात्रै हुँ,कुटेको हैन,’ डाँगीले भने।त्यतिबेला आफू चुनाव प्रचारको लागि नभइ एक जना बृद्ध बिरामी परेको हुँदा सशस्त्रको गाडी लगेर उद्धारको लागि पुगेको अध्यक्ष डाँगीले जिकिर गरे।

वडाध्यक्ष डाँगी नेकपाबाट निर्वाचित व्यक्ति हुन् भने कुटाइ खाएका भनिएका युवाहरूमध्ये ३० वर्षीय देवकोटा बबई वडा नं। ६ का तरुण संयोजक र २५ वर्षीय खड्का उपसंयोजक हुन्।

दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले भने मदिराले मातेका दुई पक्ष बीचको विवादमात्रै भएको जानकारी दिए।

‘नेकपाका वडाध्यक्ष र कांग्रेसका युवाहरूको बीचमा हुन सक्ने संभावित झडपलाई मध्यनजर गर्दै प्रहरीले उनीहरू दुवै पक्षलाई सम्झाइबुझाइ पठाएको मात्रै हो,’ एसपी भट्टराईले भने, ‘त्यहाँ धकेला धकेलसम्म भएको भन्ने मलाई जानकारी छ।’

कांग्रेस निकटका युवाहरूले भने आफूहरूले मदिरा सेवन नगरेको दाबी गरेता पनि एसपी भट्टराईले भने दुबै पक्षले मदिरा सेवन गरेको हुँदा विवाद भएको जानकारी दिए।

‘वडाध्यक्षलाई प्रहरीले गाडी हालेर लगेको भन्ने कुरा सही हैन,’ एसपी पाण्डेले भने, ‘यो चुनावको समयमा तटस्थ भूमिका निर्वाह गर्ने प्रहरीले कदापी त्यस्तो गर्दैन।’

युवाहरू आपसमा झगडा परेपछि निर्वाचनको मुखमा राजनीतिक जलप लगाउने गरेको हुन सक्ने उनले तर्क गरे।

तुलसीपुरमा कांग्रेसका अर्का युवामाथि पनि कुटपिट

तुलसीपुर उपमहानगरपालिका वडा नं। १० गौरीगाउँमा पनि अर्का एक नेपाली कांग्रेसको युवामाथि आक्रमण भएको छ।

सोमबार राति १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ हस्नापुर निवासी २० वर्षीय कृष्णबहादुर बस्नेतमाथि एकाएक नकेपाका युवाहरूले आक्रमण गरेका हुन्।

तुलसीपुर १० गौरीगाउँ निवासी विनायक खड्कासँगै मोटरसाइकलमा चढेर आएका सोही वडाको पढ्ढा निवासी विराज बस्नेतले कुटपिट गरेको अस्थायी प्रहरी पोष्ट जस्पुरका प्रहरी सहायक निरीक्षक नेत्र नेपालीले जानकारी दिए।

घाइते बस्नेतले आफूलाई विराजले लुकाएर ल्याएको वियरको बोत्तलले एक्कासी टाउकोमा हिर्काएर बताए। बस्नेतको टाउकोमा गहिरो चोट लागेको छ।

घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।

घटनाबारे प्रहरीमा उजुरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ। तर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले भने आफूकहाँ जाहेरी लिएर कोही नआएको र बाहिर बाहिरै मिलाउने प्रयास भइरहेको भन्ने सूचना पाएको बताए।

सभार ः सेतोपाटी